
ठमेलबाट फेरि समातिए गुन्डा नाइके ‘सानुभाई’
काठमाडौं – ठमेल क्षेत्रमा पटक–पटक गुण्डा गर्दी गर्दै आएका ‘गुन्डा नाइके’ युवराज गुरुङ उर्फ सानुभाई पक्राउ परेका छन् ।
गुरुङलाई बुधबार राती ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी यसअघि पनि ठमेल क्षेत्रमा गुण्डागर्दी गर्दै आउने गरेका थिए ।
उनी यसअघि ओम्निया क्लबमा सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परी १० हजार धरौटीमा छुटेका थिए ।
उनको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो।
को हुन् युवराज गुरुङ ?
युवराज गुरुङ विभिन्न आपराधिक घटनामा संलग्न हुँदै आएका आरोपी हुन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगी थिए । युवराजले यसअघि २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए ।
घैंटे मारिएपछि ‘घैंटेलाई इन्काउन्टर गर्ने प्रहरीलाई नै इन्काउन्टर गर्ने’ भन्दै हिँडेका सानुभाईको विषयमा अपराध महाशाखाले विशेष चासो राखेर खोजी गरेपछि उपत्यका छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले उनलाई २०७२ मा बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामा अत्याधुनिक लोडेड पेस्तोलसहित नुवाकोटबाट पक्राउ गरेको थियो । केही समय जेल बसेर निस्किएपछि उनी गुमनाम थिए । तर पछिल्लो समय प्रहरीको कमजोर कमाण्डिङको फाइदा उठाउँदै उनी पुनः गुण्डागर्दीमा लागेको देखिएको छ ।
सानुभाइकै समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथिसमेत आक्रमण गरेको थियो ।



कागजपत्र |
