

बेली डान्सर निखिलाको पर्दापण फिल्म ‘पर्पला’बाट

सिड्नी– बेली डान्सरका रुपमा चर्चित निखिला बुढाथोकीले भानुप्रताप ढकाल प्रस्तोता रहेको फिल्म पर्पलाबाट पर्दापण गरेकी छन्।
छायाँकन सकिएर पोस्ट प्रडक्शनको क्रममा रहेको फिल्म हलिउड प्राविधिक र नेपाली सिनेकर्मीको सहकार्यमा बनेको हो। झापा स्थायी घर भएकी निखिला ५ बर्षअघि अस्ट्रेलिया पुगेकी थिइन्। उनले विभिन्न म्युजिक भिडिओदेखि स्टेजमा समेत मोडलिङ गरेकी छन्।
‘अब फिल्ममा पनि डेब्यु गरेकी छु। स्क्रिप्टले तानेपछि फिल्ममा हाम फालें। यो अस्ट्रेलियाकै जीवनमा आधारित कथा र यथार्थ बोकेका कारण पर्दामा देखिन लागेकी हुँ’, उनले भनिन्।
उनी अहिले अन्य दुई फिल्मका स्क्रिप्ट अध्ययनमा छिन्। मन परेको खण्डमा अभिनय गर्ने तयारी पनि छ। हलिउड र बलिउडका कलाकारबाट प्रभावित निखिला भन्छिन्,‘नेपालमा तृप्ती नाडुकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनय अति नै मनपर्छ।’
आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा पर्पालको निर्माण गरिएको हो। रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइँली र छवि अधिकारीको निर्माण रहेको फिल्मको सह–निर्माताहरू सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइँली हुन्।
फिल्ममा पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, पे्रक्षा अधिकारीलगायतको अभिनय देख्न सकिनेछ। यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्दैछन्। पौडेल नेपाली फिल्म सम्पादनका लागि चर्चित र पोख्त नाम हो।

