

नायक सारुक ताम्राकार भेटिए झुन्डिएको अवस्थामा मृत, आत्महत्या गरेको आशंका

काठमाडौं – नायक सारुक ताम्राकारले घरमै मृत अवस्थामा भेटिएका छन् । उनी बिहीबार साँझ रातोपुलस्थित आफ्नै निजी निवासमा झुन्डिएको अवस्थामा मृतक भेटिएको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए ।
रेग्मीका अनुसार उनले घरको छिँडिमा घाँटीमा पासो लगाएर अवस्थामा भेटिएका हुन् । बुबा आमासँगै बस्दै आएका उनले बाबुआमा बाहिर गएको समय आत्महत्या गरेको हुनसक्ने जनाइएको छ ।
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।
‘बिहीबार बिहानसम्म सुटिङ गरेर फर्किएका हिरोको अचानक बेलुका यस्तो खबर आएपछि हामी सारुकको घर पुगेको थियौ’, रेग्मीले भने ‘उहाँको निधनले हामी निकै दुःखी छौ ।’ सारुको शवलाई पोष्टमार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको रेग्मीले जानकारी दिए ।
‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

