धमलापत्नी एलिजाले छाडिन् सक्रिय राजनीति, हर्क साम्पाङको श्रम शिविर पुगेर भनिन्, ‘अब समाजसेवामै सक्रिय हुन्छु’


काठमाडौं – नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गरेकी छन् ।

हर्क साम्पाङको श्रम शिविरस्थल पुगेर उनले केही साबेल पनि सहयोग गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सक्रिय राजनीतिबाट अलग भएको घोषणा गर्दै लेखेकी छिन्, हर्कको तारिफ गर्दै उनले लेखेकी छन्, ‘उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’

उनले थपेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

२०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन् । पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी एलिजा कलाकार पनि हुन् ।

प्रतिक्रिया