

भागरथीको गाउँमा के गर्दैछन् डिआईजी उत्तम सुवेदी?

काठमाडौं– बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानी की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धान जारी रहेको छ।
सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी आफैं खटिएका छन्। उनले हत्या प्रकरणको अनुसन्धान सल्टाउनका लागि प्रदेशका अब्बल अधिकारीसहित प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का अधिकारीको पनि नेतृत्व गरी परिणाम निकाल्नका लागि छानबिन जारी राखेका छन्।
भागरथी हत्या सम्बन्धी प्रहरीले विशेष सूचना हात पारेको र अनुसन्धानको दायरा साँघुरो बनेको प्रहरी दावी छ। भागरथीको मोवाइलमा आएका कल डिटेल्सको अध्ययन पनि प्रहरीले सिध्याएको छ।
भागरथी प्रकरणको अनुसन्धान पनि निर्मला पन्तको जस्तो बन्ने खतरा थियो। उक्त खतरालाई डिआईजी सुवेदीले टार्दै अनुसन्धानमा अग्रपंक्तिमा उभिएका हुन्।
‘म फिल्डमा आउँदा दोगडाकेदारमा आन्दोलन भइरहेको थियो । दुईदिनपछि आन्दोलनरत पक्षसँग समन्वय गरेर प्रहरीलाई सघाउन अनुरोध गरेका थियौं’, उनले भनेका छन्।
प्रहरीले सूक्ष्मढंगले अनुसन्धान अघि बढाए पनि समाजका मान्छे कोही केही पनि नबोल्ने समस्याले केही दिन अनुसन्धानका लागि लागेको उनको बुझाई छ।
स्थानीयले पनि असाध्यै राम्रो सहयोग गर्न थालेका छन्। उनी आफैं नै उक्त गाउँमा बसेपछि समन्वयमा सहयोग हुन थालेपछि अनुसन्धानले सफलताको बाटो समातेको हो।
प्रहरीले निक्कै सफलता पाइसकेको उनको संकेत थियो। एउटा अन्तरवार्तामा उनले भनेका छन्,‘प्रहरीले अहिलेसम्म पत्ता लगाएको कुरा अहिने नै सार्वजनिक गर्न मिल्दैन । अहिले यति भनौं प्रहरीले सफलता हासिल गर्नेछ । अनुसन्धानमा सुरुदेखि कुनै पनि कसर बाँकी नराखेर सजकताका साथ प्रहरी अघि बढेको छ।’
उनले अगाडि थपेका छन्,‘घटनास्थल सील गर्नेदेखि लिएर भेजाईजन स्वाब सङ्कलन गर्न डाक्टरको टोली घटनास्थलमै पुग्नुभयो । तालिम प्राप्त कुकुर पनि परिचालन गरेका थियौं। कुकुरले मोबाइल पत्ता लगायो तर, त्यो दिन पानी परेका कारण कुकुरलाई केही कठिनाइ भयो । कुकुरले गर्न सक्ने काममा केही बाधा पुग्यो।’
पोस्टमार्टम रिपोर्टले नै धेरै कुरा बताइसकेको उनको बुझाई छ। पीडित परिवारका सदस्यले पनि अनुसन्धानमा सके जति सहयोग गरिरहेको डिआइजी सुवेदीले बताएका छन्।
उनले जोडेका छन्,‘हाम्रो तर्फबाट हुने अनुसन्धानमा सुविधा सम्पन्न ठाउँमा जेजति प्रहरी जनशक्ति र प्रविधिको प्रयोग हुन्छ दोगडाकेदारमा पनि हामीले त्यही स्तरको अनुसन्धान अघि बढाएका छौं । रात–दिन नभनी हामीले अनुसन्धान तीव्र रुपमा अघि बढाएका छौं । दोषीले उम्कन पाउने अवस्था छैन।’

