

राष्ट्रिय पुरुष कराँते प्रतियोगिता हुँदै, यस्ताे छ तयारी

राैतहट – जिल्लाको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुने छ । चन्द्रपुर नगरपालिका मुख्य प्रायोजनक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।
प्रतियोगितामा हरेक जिल्ला र प्रदेशबाट छनौट भएर आएका पुरुष कराते खेलाडीहरुको सहभागिता रहने नेपाल सितोरियो कराते संघ रौतहटका काषाध्यक्ष भिम पहरीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३ हजार दोस्रो हुनेले नगद २ हजार र तेस्रो हुने खेलाडीले नगद एक /एक हजार प्राप्त गर्ने छन् । सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले प्रतियोगितामा खेल्ने छन् । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक नेपाल सितोरियो कराँते संघ चन्द्रपुर रौतहटले जनाएको छ ।
हरेक तौल समुहमा प्रथम ,द्धितीय र तृतीय हुने खेलाडीले नगद पुरस्कार ,मेडल तथा प्रमाणपत्र पाउने छन् । चन्द्रपुर नगरपालिकाको सहकार्यमा यसअघि गत मंसिरमा महिला राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भइसकेको छ ।

