सगरमाथा आरोहणको गलत दावी गर्नेलाई हिमाल चढ्न रोक, प्रमाणपत्र रद्ध
काठमाडौं – नेपाल सरकारले सगरमाथा आरोहण गरेको झुटो प्रमाण पेस गरेका दुई भारतीय नागरिकमाथि ६ वर्षको लागि हिमाल चढ्न प्रतिबन्ध लगाएको छ । साथै उनीहरूको सगरमाथा आरोहणको प्रमाणपत्रसमेत रद्ध गरिएको छ ।
उनीहरूले सन् २०१६ मा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए । भारतीय आरोहीहरू नरेन्द्रसिंह यादव र सीमारानी गोस्वामीले सन् २०१६ मा आरोहण गरेको प्रमाणपत्र पर्यटन विभागले जारी गरेको थियो ।
त्यतिखेर सम्पर्क अधिकारीले प्रस्तुत गरेको तस्बिर तथा रिपोर्टका आधारमा विभागले प्रमाणपत्र दिएको थियो । तर पर्यटन मन्त्रालयले गरेको अनुसन्धानमा उनीहरूले प्रस्तुत गरेको कागजात तथा प्रमाणपत्र फर्जी भएको पाइएको थियो ।