

सुरक्षाकर्मीको रासनभत्ता बढ्ने, कति पुग्ने भयाे त ?

काठमाडाैं – सुरक्षाकर्मीको रासनभत्ता वृद्धि गर्न सिफारिस भएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको रासनभत्ता पुनरावलोकन समितिले बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई यससम्बन्धी प्रतिवेदन बुझाएको छ ।
गृहमन्त्री बादलले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाइने बताएका छन् । समितिले न्यूनतम ३३ प्रतिशत वृद्धि गर्नुपर्ने औँल्याएको छ ।
आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य सर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने मन्त्री बादलले बताएका छन् ।
विगत ६ वर्षदेखि प्रहरीको राशनभत्ता एउटै छ । सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको हो । रासनभत्ता वृद्धि गर्न पटकपटक पहल हुँदै आए पनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । मन्त्री थापाले वृद्धि प्रक्रिया आफूले अघि बढाउने बताएका छन् ।

