
अस्ट्रेलियाका ४० हलमा- प्रसाद-२’
काठमाडौं – अन्तरजातीय दम्पतीको प्रेम र छुवाछुतविरुद्धको चलचित्र ‘प्रसाद-२’ वैशाख १५ देखि देशभर प्रदर्शनरत छ । स्वदेशी दर्शकबाट सुखद प्रतिक्रिया बटुलिरहेको सुदर्शन थापा निर्देशित उक्त फिल्म आगामी वैशाख २८ देखि अस्ट्रेलियामा पनि लाग्ने भएको छ । ‘प्रसाद-२’ ले अस्ट्रेलियाको प्रदर्शनको नयाँ इतिहास रच्न लागिरहेको त्यहाँका वितरकले दाबी गरेका छन् ।
‘प्रसाद-२ अस्ट्रेलियाका कम्तीमा ४० हलमा एकसाथ लाग्दैछ,’ अस्ट्रेलियामा चलचित्रको वितरणको जिम्मा लिएको नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले कान्तिपुरसँग भने, ‘यसअघि यसरी हलकै नियमित शोजमा नै लागेर सर्वाधिक हल प्रेमगीत-३ ले पाएको थियो । प्रसाद-२ ले त्यसलाई पनि उछिनेर ४० भन्दा बढी हलमा पहिलो सातामा नै कम्तीमा एक सय बक्सअफिस शोज पाएको छ । यो रेकर्ड हो ।’
प्रसाद(२ को अस्ट्रेलियाको प्रदर्शनको अधिकार भने नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टका लागि रन्जितराज वन्तले लिएका हुन् । ‘प्रसाद-२’ अस्ट्रेलियाका मुख्य थिएटर इभेन्ट सिनेमा, यूनाइटेड सिनेमा, होयट्स सिनेमा, बीबीसी सिनेमासहितका मल्टिप्लेक्सले लगाउन लागेका हुन् ।
सुशील पौडेलको पटकथा लेखन रहेको ‘प्रसाद-२’ मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे, विशाल पहाडी, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकार छन् । राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सुभाष थापाले प्रस्तुत गरेका हुन् ।



कागजपत्र |
