कञ्चनपुरमा स्ट्रबेरी खेती, कृषककाे बढ्दाे आकर्षण


कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिइएको छ । त्यहाँस्थित फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक रु पाँच लाखको लगानीमा व्यवसायिक रुपमा स्ट्रबेरीखेती शुरु गरिएको हो ।

प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको बताइएको छ । स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पुर्‍याउनका लागि थोपा सिँचाइकोसमेत व्यवस्था गरिएको छ । चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन शुरु गरेको छ ।

हालसम्म दश किलो बढी उत्पादित स्ट्रबेरी स्थानीय बजारमा बिक्री भएको छ । प्रति किलोग्राम रु सात सयका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको फार्मका सञ्चालक नन्दलाल भट्टले बताए । ‘काठमाडौँलगायत वाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ’, उनले भने, ‘भर्खरै स्ट्रबेरी पाक्न शुरु भएको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।’ प्रत्येक बोटमा दशदेखि पन्ध्र दानासम्म स्ट्रबेरी फलेका छन् ।

‘इन्टरनेटको माध्यमबाटखेती गर्ने तरिका सिक्यौं । कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा काठमाडौँबाट एक हजार ६०० स्ट्रबेरीका बोट ल्याई रोपेका हौं’, उनले भने, ‘यसरी फस्टाउने कल्पनानै गरेका थिएनौं । राम्रैसँग फल्न शुरु गरेको छ ।’ दुई कठ्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादन सन्तोषजनक भएकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको उनले बताए ।

स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । नर्सरीमा उत्पादित बिरुवा बिक्रीसमेत गर्ने कार्य शुरु गरिएको छ । स्ट्रबेरीलाई भूइँकाफल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । उत्पादन भएको सबै फल बिक्री नभएपछि प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाइ बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइने गरिन्छ ।

यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ । ठाउँ र जात अनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि तालीम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए ।

उनका अनुसार बिरुवा बारीमा रोप्दा एक बिरुवादेखि अर्को बिरुवाको दूरी ४५ सेन्टिमिटर र लाइनदेखि लाइनको दूरी ७५ सेन्टिमिटरसम्म राख्न उपयुक्त हुन्छ । फूल फूलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ ।

प्रतिक्रिया