घाँस काट्न गएका वृद्ध मृत अवस्थामा फेला


विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिका-६ घर भएका एक जना वृद्ध बिहीबार दिउँसो मृत भेटिएका छन्। घाँस काट्न भनेर घरबाट हिँडेका ७७ वर्षीय पदमबहादुर खड्का मकैबारीभित्र मृत फेला परेका हुन्।

प्रहरीका अनुसार घाँस काट्नलाई बिहान ८ बजेतिर उनी डोको बोकेर घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरनजिकको मकैबारीमा दिउँसो ३ बजेतिर उनको शव भेटिएको प्रहरीले जनाएको छ।

घाँस लिएर घर नफर्किएका वृद्धलाई खोजी गर्ने क्रममा मकैबारीमै ढलिरहेको अवस्थामा मृत फेला पारेपछि स्थानीय र परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले शवलाई पोस्मार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान सुरु गरेको छ।

वृद्धको शवनजिक डोको, नाम्लो, हँसिया र उनले काटेको घाँस पनि भेटिएको थियो। उनको मृत्युको कारण खुल्न बाँकी छ। यद्यपि, उच्च रक्तचापका कारण मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

प्रहरीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको थप अनुसन्धान गरेपछि मृत्युका बारेमा यकिन हुने जानकारी दिएको छ।

प्रतिक्रिया