प्रचण्ड सरकारलाई खुल्लम–खुल्ला चुनौती

एके४७ को सुरक्षामा चक्रे मिलन !


नेपालगञ्ज – चर्चित गुण्डा नाइके भनिने चक्रे मिलन नेपालगञ्जमा अत्याधुनिक हतियार एके ४७ को सुरक्षामा देखिएका छन् । प्राप्त भिडियोअनुसार उनीसँगै रहेका एक व्यक्तिको साथमा एके४७ हतियार देखिएको छ ।

ज्ञानेन्द्रवली५७ नाम राखेर टिकटकबाट सार्वजनिक गरी अनलाइनन्यूज७लाई प्राप्त भएको भिडियोमा नेपालगञ्जको एक होटलबाट बाहिरिँदै गरेका चक्रे मिलनसँगै रहेका एक युवकले बन्दुक बोकेको देखिएको छ ।

स्रोतका अनुसार नेपालगञ्जकै ज्ञानु वली र विमल केसीको निमन्त्रणमा नेपालगञ्ज पुगेका चक्रेको साथमा हतियार बोक्ने युवा गणेश बोगटी हुन् ।

भिडियोमा अत्याधुनिक हतियार सार्वजनिक भएपछि नेपाल प्रहरीले अनुसन्धान थालेको छ । पछिल्लो समय राजनीतिक आडमा फेरि राजधानीलगायतका देशका विभिन्न सहरहरुमा गुण्डागर्दी मौलाउन थालेको छ ।

केही वर्ष अगाडि प्रहरी इन्काउन्टरमा घैंटे भनिने कुमार श्रेष्ठ र दिनेश अधिकारी चरी मारिएपछि देशमा गुण्डागर्दी शुन्यमा झरेको थियो । तर पछिल्लो समय गुण्डागर्दीमा लागेकाहरु विभिन्न राजनीतिक दलको सदस्यता लिँदै त्यही राजनीतिक दलको छत्रछायाँमा गुण्डागर्दीमा संलग्न हुन थालेको पाइएको छ ।

गुण्डागर्दीमा संलग्न यस्ता व्यक्तिहरुबाट पटकपटक साना हतियारहरु बरामद भएता पनि यति ठूलो अत्याधुनिक हतियार देखिएको शायदै पहिलो घटना होला ।

सम्बन्धित समाचारः चक्रे मिलनसँग अत्याधुनिक हतियारसहित देखा परेका बडीगार्ड युवा संघ महाधिवेशनस्थलबाटै पक्राउ

प्रतिक्रिया