

चक्रे मिलनसँग अत्याधुनिक हतियारसहित देखा परेका बडीगार्ड युवा संघ महाधिवेशनस्थलबाटै पक्राउ

दाङ — गुन्डा नाइके भनिने चक्रे मिलनको बडीगार्डका रुपमा अत्याधुनिक हतियारसहित हिँडेका युवक पक्राउ परेका छन् ।
सोमबार अनलाइनन्यूज७ ले चक्रेको समूहमा अत्याधुनिक हतियार देखा परेको समाचार प्रकाशित गरेपछि उनको खोजी गर्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रचण्ड सरकारलाई खुल्लम–खुल्ला चुनौती, एके४७ को सुरक्षामा चक्रे मिलन !
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनस्थलमा चक्रेसहित पुगेका ती बाँके चिसापानीका गणेशबहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरले बताए ।
उनका अनुसार बोगटीको साथबाट प्वाइन्ट टु टु हतियार समेत बरामद गरिएको छ ।
‘चक्रे मिलन भन्ने एउटा गुन्डा छ नि हो उसको बर्डिगाडको रूपमा हिँडेको गणेशबहादुर बोगटीलाई हतियार सहित आज बेलुकी पक्राउ गरेका छौं’, एसपी राठोरले भने, ‘हतियार इजाजत प्राप्त हो । तर,पनि खुलेआम बोकेर हिँड्न पाइन्न । त्यसैले पक्राउ गरेर हिरासतमा राखेका छौं ।’
यसअघि बोगटीले हतियारसहित चक्रेमिलनलाई सुरक्षा दिएको भिडिओ टिकटकमा सार्वजनिक भएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

