भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी


ललितपुर – भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन् ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राखे ।

‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उनले भने, ‘तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकी हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ ।’

अभिनेता तथा लेखक समेत रहेका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पारे । उनले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताए ।

उनले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गरे । ‘अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो’, उनले भने, ‘अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ ।’

उनले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताए । डा द्विवेदी निर्देशित सन् १९९१ मा प्रशारण भएको टेलीशृङ्खला ‘चाणक्य’बाट चर्चा कमाएका थिए । चाणक्यमा उनले लेखन तथा अभिनय समेत गरेका थिए । अन्तरक्रियामा उनले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गरेका थिए ।

अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणी नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया