

लिचीको बोटमा स्पाइडर माइट्सको प्रकोप

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लगाएको लिचीमा स्पाइडर माइट्स (सुलसुले) र लिचीको पतेरोको प्रकोप देखा परेको छ । रावाबेँसी गाउँपालिका-१ कुभिन्डे, रावाबेँसी गाउँपालिका-२ खार्पा, रावाबेँसी गाउँपालिका-५ दुबेकोल र रावाबेँसी गाउँपालिका-६ हौंचुरका किसानले लगाएको लिचीमा स्पाइडर माइट्स (सुलसुले) र लिचीको पतेरोको प्रकोप देखिएको हो ।
विशेषगरी लिचीमा स्पाइडर माइट्सको प्रकोप फैलिँदा उत्पादनमा र्हास ल्याइरहेको पाइएको कृषि ज्ञान केन्द्र, खोटाङका बाली संरक्षण अधिकृत रामनन्दन यादवले बताए । रावाबेँसीका विभिन्न वडामा सर्दैगरेको बेर्नादेखि चार/पाँच पुस्ताका गरी करिब १० हजारभन्दा बढी लिचीका बोट छन् ।
लिचीमा सुलसुले र लिचीको पतेरोको प्रकोप विगतका वर्षदेखि नै देखिएको गाउँपालिकाले जनाएको छ । स्पाइडर माइट्स लागेपछि लिचीको पातमा प्रकाश संश्लेषणमा बाधा पुग्ने र उत्पादनमा र्हास आउने विज्ञाको भनाई छ ।
स्पाइडर माइट्सले गँवारो लगायतका किरा लाग्नलाई पनि सहयोग पुर्याउने बाली संरक्षण अधिकृत यादवले बताए । ‘स्पाइडर माइट्स हरियो पातको पछाडितिर रातोरातो पाउडरजस्तो लाग्छ । नयाँ पालुवा र मुनालाई पुरै रातो बनाएर प्रकाश संश्लेषण गर्न रोक्छ । प्रकाश संश्लेषण गर्न नपाए पछि उत्पादन घट्छ,’ यादवले भने, ‘यसले अरु किरा लाग्नलाई पनि प्रोत्साहन गर्छ । गँवारो बढ्न सहयोग पुर्याउँछ ।’
कुभिन्डे, खार्पा र हौंचुरका अधिकांश घरमा ठूला–ठूला लिचीको बोट छन् । लिचीमा देखा परेको स्पाइडर माइट्स (सुलसुले) र पतेरो नियन्त्रणका लागि बाली संरक्षण प्रयोगशाला झुम्का र कृषि ज्ञान केन्द्रसँग समन्वय भइरहेको गाउँलिकाको कृषि शाखाका कृषिविज्ञ बिवेक ढकालले बताए । कतिपय बोटमा लिचीको फल फुट्ने समस्या पनि फैलिएको पाइएको छ ।
बाली संरक्षण प्रयोगशाला झुम्का र कृषि ज्ञान केन्द्रले केही समयपछि लिचीमा देखा परेको रोगको प्रकोप नियन्त्रण सम्वन्धी ‘डेमो’ प्रदर्शन सहित आवश्यक विषादि तथा उपकरण बाँड्ने तयारी गरिरहेको छ । लिचीमा देखिएको रोग तथा किराको पहिचानका लागि गत चैत ७ गते बाली संरक्षण प्रयोगशालाका प्रमुख मुकेशकुमार शाह, बाली संरक्षण अधिकृत घनश्याम बराल, कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत यादब लगायतको टोली स्थलगत अनुगमनमा रावाबेँसी पुगेका थिए ।

