

विद्यालयबाट फर्किन पाइनन् भागरथी…

बलात्कारपछि हत्याको घटनास्थल डायरी
– लोकेश साउद
बैतडी – ‘घमण्ड नगर्दा हुन्छ, पृथ्वीको पाहुना हो हामी । मालिक होइन’ गएको मंगलवार दोगडाकेदार–७ कि भागरथी भट्टले यही स्टाटस लेखेकी थिइन समाजिक संजालमा । थाहा छैन यो उनले आफ्ना लागि लेखेकी थिएन वा अरुका लागि । तर संयोग पनि कस्तो । त्यसको २४ घण्टा नपुग्दै उनले पृथ्वीबाट मानवचोला नै त्यागिन । उनको यो स्टाटस पढ्नेहरुले पनि अनुमान गरेका थिएनन होला, वियोगान्त कथाजस्तै लाग्ने यो दुखान्त सँयोगले मानव सभ्यातालाई नै गिज्याउने छ ।
शुक्रवार बिहान । दोगडाकेदार–७ चडेपानीकी १७ बर्षिया भागरथीको शव सडकभन्दा मुस्किलले ५० मिटर तल बनमाराको झाडीमा पल्टिएको थियो । जुन सडकबाटै पनि देख्न सकिन्थ्यो । घटनास्थललाई प्रहरीले सिल गरेको थियो । वरपरका गाउँका सयौ मानिसहरुले घटनास्थल घेरेर राखेका थिए । बैतडी–दार्चुला सडकको खोचलेक बजारबाट पश्चिमतर्फको कच्ची बाटोलाई पछ्याउँदै जाँदा करीब २ किलोमिटरको दुरीमा घटनास्थल थियो ।

बुधवार उनि पढ्ने सनातन धर्म माबिबाट फर्किएपछि करीब २ बजेको समयमा उनी खोचलेक बजारमा देखा परेको स्थानीयहरुले बताएका छन्् । जुन दिन उनी घर फर्किनन् । आफन्तले साथीको घरमा गएको वा कोही केटासँग भागेर गएको अनुमान गरे । उनि सम्पर्क बिहीन भएपछि छर छिमेकी सबै खोजिकार्यमा लागे । ‘छिमेकीहरुको घरमा खोजि ग¥यौं, उसका साथीहरुलाई सोध्यौ’ भागरथीका काका शिवराज भट्ट भन्छन्– ‘भागेर गएको अनुमान गरेर ठाउँ ठाउँमा गाडिहरुको चेक गर्न मान्छे पठायौं ।’ तर कही पनि भागरथीको पत्तो चलेन ।

दोस्रो दिन उनको हुलिया सहित खोजिकार्यका लागि स्थानीय खोचलेक प्रहरी चौकीमा निवेदन दर्ता भयो । त्यति बेलासम्म उनि जिवित भएको अनुमान गरेका थिए आफन्तले । उनी पढ्ने सनातन धर्म माबिका बिद्यार्थीहरु पनि खोजिकार्यमा जुटिसकेका थिए । विद्यालयबाट घर फर्किदै गर्दा गाउँ पुग्न केही मिनेट अगाडि चडेपानीका तीन जना विद्यार्थीले बाटो छेउमा बनमारको झाडी भित्र सँुगुरजस्तै बस्तु देखे । नजिकै झाडीका बुट्यानहरु भाच्चिएका थिए । केही मिटर नजिक गएर हेर्दा त्यहाँ भागरथी थिइन् । तर चीर निद्रामा । कहिल्यै नउठ्ने गरेर सुतेकी उनको तल्लो शरिर निर्वश्त्र थियो । कापी किताव सँगै थिए । तीनै जनाको होस हवास उड्यो । दगुर्दै घर गएर बताएपछि छिमेकी र प्रहरी घटनास्थल पुगेका थिए ।
त्यही ठाउँमा शुक्रवार बिहान संचारकर्मीहरुको टोली पुगेको थियो । त्यो भन्दा अघि नै प्रहरी नायब उपरिक्षक नारायण अधिकारी सहितको प्रहरी टोलीले घटनास्थल सिल गरेर सुरक्षा दिइरहेको थियो । प्रुमुख जिल्ला अधिकारी मोहन जोशी, जिल्ला अस्पतालका डा. बशन्त जोशी, सरकारी अधिवक्ता लगायत सुरक्षा निकायका प्रमुखहरु घटनास्थलमा थिए । तालिम प्राप्त कुकुर सहित क्षेत्रीय प्रहरी कार्यालय धनगढीको टोली पनि अनुसन्धानमा खटिएको थियो ।
बलात्कार र हत्या
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । भागरथीको हत्या पछाडिका कारणहरु भोली प्रष्ट हुँदै जानेछन् । प्रहरीले मुख खोलि नसकेको अवस्थामा बलात्कारको आधिकारिक पुष्टी हुन पनि बाँकी नै छ । तर घटनास्थलको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएका प्रशस्त प्रमाणहरु देखिएका छन् । कच्ची सडकको खोल्सोबाट उनलाई जबरजस्ती करीब ५० मिटर तल लगिएको देखिन्छ । त्यहाँ लग्दा बाटोमा उनका चप्पल खसेका छन् । तर शरिरमा माटो लागेको छैन् । उनलाई घिसारेर होइन, बोकेर लगेको अनुमान गर्न सकिन्छ । उनको शरीर अद्र्धनग्न अवस्थामा थियो । तल्लो शरिरको लुगा फुकालिएको थियो । र उनको यौनाङ्गबाट रगत बगेको प्रष्ट देखिन्थ्यो । बलात्कारलाई पुष्टि गर्न यही कुरा काफी छ । उनको हत्या गर्नुपर्ने अन्य कुनै कारण स्थानीयले देखेका छैनन् ।
तालिमप्राप्त कुकुरले पत्ता लगायो मोबाईल
क्षेत्रिय प्रहरी कार्यालय धनगढीबाट रातोरात ल्याइएको तालिम प्राप्त कुकुरले भागरथीको शव भएको ठाउँ भन्दा करीब १० मिटर पूर्वतर्फ उनको मोबाईल पत्ता लगायो । शुक्रवार बिहान कुकुरले पत्ता लगाएको मोबाईल र छुट्टिएको ब्याट्रीसँगै प्रहरीले सिम कार्ड पनि फेला पारेको छ । अपराधीसम्म पुग्न यो एउटा गतिलो प्रमाण बन्न सक्ने प्रहरीले अनुमान गरेको छ । मोबाईल फालिएको ठाउँबाट केही मिटर उत्तर–पुर्वसम्म पनि प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थिया । तर राती पानी परेका कारण कुकुरबाट अनुसन्धान गर्न बाधा सिर्जना भएको प्रहरी स्रोतले जनायो ।

कमर्स पढ्ने गाउँकी एक्ली थिइन् भागरथी
विद्यालयबाट करीब पाँच किलोमिटर टाढाबाट हिडेर विद्यालय जाने भागरथी गाउँकै एक्लो कमर्स पढ्ने विद्यार्थी थिइन् । विद्यालय जाने बेलामा थुप्रै साथी हुन्थे । तर फर्किने बेला साढे एक घण्टा पहिल्यै उनको कक्षा सकिन्थ्यो । पढाई सकिए लगत्तै घरको पुरै काम उनी आफैले गनुपर्ने अवस्थामा रहेको उनका आफन्त बताउँछन् । घरमा बाख्रा पालेर विद्यालय खर्च जुटाउने उनका ब्ुवाको एक महिना अघि मृत्यु भएको थियो । बुवाको उपचारमा खर्च भएको एक लाख भन्दा बढी ऋण अझै तिर्न बाँकी रहेको उनकी आमा बताइन् । घर चलाउन समस्या भएपछि १० कक्षाबाट पढाई छोडेर उनका दाई काम गर्न भारत गएको थिए । सेतो लुगामा बुढी आमा सँग बस्ने भागरथीले घरको सबै काम आफैले गर्नुपर्ने अवस्था थियो ।
हत्यारालाई फाँसीको माग

बलात्कारपछि हत्या आशंका गरिएकी भागरथी पढ्ने विद्यालय सनातन धर्म माबि र उनको गाउँको भुमिराज माबि चडेपानीका सयौं विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । आफ्नो सहकर्मीको हत्यापछि दोशीलाई फासीको माग गर्दै विद्यार्थीहरुले घटनास्थलमै नाराबाजी गरेका थिए । त्यसपछि स्थानीय खोचलेक बजारमा दिनभरी नै बिद्यार्थीहरुले नाराबाजी गरिरहे । उनको फोटो सहितको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले चर्को नाराबाजी गर्दै दोशीलाई यथाशिघ्र कानूनी कठघरमा उभ्याउन माग गरेका छन् ।
गाउँलेका आँखाभरी आँशु

गाउँका सयौं महिला, उनका समकक्षी र पुरै गाउँलेहरुले दिनभरी घटनास्थल छोडेनन् । सबैका आँशा आँशुले भरिएका थिए । आँशु पुछ्दै खोल्सोमा बनमाराको झाडीमा पातालो लुगाले छोपेर राखिएको भागरथीको शवतर्फ सबैका नजर तेर्सिएका थिए । उनको बलिष्ठ शरिर भुईमा पल्टिएको थियो । खुट्टा भने बाहिरै देखिएका थिए । छिन छिनमा महिलाहरु चर्को आवाज निकालेर रोइरहेका थिए । प्रहरी टोली अनुसन्धानमा खटिएको थियो । घटनास्थल भन्दा केही माथि उनकी आमा सहित पाँच÷सात जना महिलाहरु रुदै बसिरहेका थिए । प्रमुख जिल्ला अधिकारी लगायतले शोकाकुल परिवारलाई सान्त्वना दिन खोज्दै थिए । नजिकै प्रदेश साँसद लिलाधर भट्ट पनि थिए । आँशु लुकाउँदै उनले दोशी छिट्टै पत्ता लाग्ने कुरा बताउँदै गर्दा रोइरहेका निरास महिलाहरुका अनुहारमा आँशु मिश्रीत कृतज्ञता झल्किन्थ्यो ।
भगवान र बुवाको फोटो

गाउँभरीका मानिसहरु सबै कामकाज छोडेर घटनास्थलमा ओइरिएका थिए । हिलाम्मे बाटोमा मोटरसाईकल लिएर हामी उनको घर जाँदैगर्दा सेतो लुगा लगाएर एउटी महिला एक्लै घटनास्थलतर्फ आउँदै थिइन् । उनी भागरथीकी आमा रहिछिन् । उनलाई घटनास्थल नजान अनुरोध गरेर हामी गाउँ पुग्दा सुनसान थियो । गाइबस्तुहरु बाहेक गाउँमा कोही थिएनन् । भागरथीको घरको ढोका बन्द थियो । तर ताल्चा नलगाएको । उनका एक जना आफन्तले ढोका खोले । हामी भित्र पस्यौं । निभ्नै लागेको चुलोमा केही उम्लिदै थियो । त्यो भन्दा भित्र अर्को कोठामा भागरथी र उनकी आमा सुत्ने रहिछिन् । कोठाको बाया तर्फ सानो खटियामा उनका ओड्ने बिछ्याउने कपडा असरल्ल थिए । दायाँपट्टी आमाले सुत्ने बिस्तरा भने केही मिलाइएको थियो । कोठाको एक छेउमा पुरानो धुलो लागेको रेडियो थियो । सबैभन्दा माथिल्लो भागमा एकातिर लक्ष्मी र सरस्वतीको फोटो थियो । अर्कातिर उनका स्वर्गिय बुवाको धमिलो तस्वीर । जसरी धपक्क बल्दो उमेरकी भागरथी एकाएक बनमाराको झाडीमा निभेकी थिइन् । त्यसरी नै उनको बुवाको फोटो र भगवानको फोटोको छेउमा बल्दाबल्दै निभेको दियो थियो ।


