राजेन्द्र लम्सालको पार्थिव शरीर नेपाल ल्याइयो, आजै अन्त्येष्टी गरिने


काठमाडौं – लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीर नेपाल ल्याइएको छ । गत फागुन २३ गते स्पेनमा निधन भएका स्वर्गीय लम्सालको शव आज नेपाल ल्याइएको हो ।

लम्सालको शवलाई बुझ्न मोडल तथा कलाकार सागर लम्सालसहित लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

लम्सालको शवलाई आजै (शुक्रबार) पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिए । शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम हुनेछ ।

प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको छ ।

मौलिक गोकगीतका पुराना कलाकार लम्सालका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् । ‘जापान टोकियो’ उनको सर्वाधिक चर्चित गीत हो । गायकको नाम थाहा नपाएपनि धेरैको मुखमा यो गीत अहिले पनि झुण्डिएको छ ।

May be an image of text

प्रतिक्रिया