

हत्यामा संलग्न ३ जना पक्राउ

बुटवल – रुपन्देहीको सैनामैनामा १ पुरुषको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–२ कालिका चोकका १८ वर्षीय शिशिर थारू, अर्घाखाँचीको सिमलपानीका २७ वर्षीय धुव्र बिसी, नवलपरासीको बर्दघाट नगरपालिका–९ का २५ वर्षीय शेरबहादुर बोहोरा रहेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
बुधवार सैनामैना नगरपालिका–२ बाँबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधवार टाउकोमा चोट लागेको अवस्थामा अन्दाजी ४० वर्षीय एक अपरिचित पुरुषको शव फेला परेको थियो ।
पक्राउ परेकाहरूले अघिल्लो दिन साँझ सँगै बसेर मादक पदार्थ सेवन गरेको र अन्य गतिविधिको अध्ययन गर्दा हत्यामा संलग्न भएको पुष्टि हुने आधारहरू फेला परेका प्रहरी नायव उपरीक्षक थापाले बताए । ‘घटनाको सूक्ष्म अध्ययन अनुसन्धान भइरहेको छ, प्रारम्भिक अनुसन्धानमा भेटिएको घटनाक्रम र उनीहरूको बयानले अपरिचित पुरुषको हत्यामा उनीहरू नै संलग्न भएको भन्न सकिने आधारहरू छन्,’ उनले भने ।
ती पुरुषको सनाखत हुन सकेको छैन । पक्राउ परेकाहरूलाई जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

