देश र जनताको पक्षमा उभिँदा एमाले एक्लो बृहस्पति बनेको छ : महासचिव पोखरेल


काठमाडाैं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश र जनताको पक्षमा उभिँदा एमाले एक्लो बृहस्पति बनेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा एक दर्जन दल एक ठाउँमा उभिएर कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गरेपछि पोखरेलले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

‘देशको पक्षमा, जनताको पक्षमा र सत्यको पक्षमा उभिँदा कहिलेकाहीँ एक्लो बृहस्पति बन्नुपर्ने हुन्छ तर अन्त्यमा जीत त्यसकै हुन्छ,’ पोखरेलले भनेका छन् ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिँदा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएर एक्लै निर्वाचन लडेको थियो । निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मत प्राप्त गर्दा नेम्वाङले १५ हजार ५१८ मत पाएका छन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ र प्रदेश सभाका ५५० सांसद मतदाता थिए । जसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१३ तथा प्रदेश सभाका ८१८ सदस्यले भोट हालेका थिए ।

प्रतिक्रिया