

पृथ्वीबहादुर शाहमाथिको अनुसन्धान टुङ्गियो, चार मुद्दा चलाउन सीआइबीको सुझाव

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अछामका पृथ्वीबहादुर शाहमाथिको अनुसन्धान टुङग्याएको छ । सीआइबीले आज पत्रकार सम्मेलन गरी अनुसन्धान सकिएको जानकारी दिएको छ ।
सीआइबीले शाहविरुद्व चार वटा शीर्षकमा मुद्दा चलाउन सुझाव दिएको छ । शाहविरुद्व ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध शीर्षका चारवटा कसुरमा मुद्दा दायर गर्न सुझाव सीआइबीले दिएको छ । शाहविरुद्व पीडित भएकाहरुले २४ वटा उजुरी हालेका थिए ।
प्रहरीका अनुसार शाहबाट पीडित भएकाहरुको संख्या ५६ रहेको खुलेको छ । शाहसँगै यी अपराधमा अन्य २० जना संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ । जसमध्ये अहिलेसम्म ७ जनालाई पक्राउ गरिएको भने १६ जना अझै फरार छन् । शाहले विदेशी नागरिकहरुलाई एन्टीभाइरस अपडेट र अमाजोनको बिल भुक्तानीलगायतका बहानामा विदेशी नागरिकहरुसँग सम्पर्क गरेको खुलेको छ ।
शाहले त्यसपछि रिमोट एक्सेसबाट उनीहरुको डिभाइसमा गैरकानुनी पहुँच बनाएर बैंक एकाउन्टमा पहुँच पु¥याइ उक्त रकम नेपाल र थाइल्यान्डसमेत पठाउने गरेको सीआईबीले जनाएको छ । उनले २४ जना पीडितहरुबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठग्न सफल भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । शाहले केही रकम अमेरिकाबाट नेपाल भित्र्याउन सफल पनि भएका थिए ।

