

मोरङमा १८५ राउण्ड गोली फेला, कसले राख्याे जमिनमुनि !

मोरङ – मोरङको उर्लाबारीमा खाल्डो खनेर जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफल समेतका हतियारमा प्रयोग हुने १८५ राउण्ड गोली फेला परेको छ ।
उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घर नजिक खेतमा बुधबार दिउँसो ७.६२ एमएम गोली भेटिएको हो । स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा १८५ थान गोली फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
प्लाष्टिकभित्र पोको पारेर राखेको गोली भेटेपछि सुवेदीले प्रहरीलाई खबर गरेका थिए । जमिनभित्र लुकाएर राखिएको गोली बरामद गरेर घटनाको अनुसन्धान शुरु गरिएको डीएसपी राईले बताएका छन् ।
घटनास्थल लिम्बूको घरबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । घरमा उनका भान्जा चन्द्रबहादुर लिम्बू बस्थे । उनी भने परिवारसहित उर्लाबारी बजारमा बस्थे । चन्द्रबहादुरको पनि १० वर्षअघि नै मृत्यु भइसकेको छ । अहिले त्यो घर भत्काइएको छ ।
प्रहरीका अनुसार गोली द्धन्द्धका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्छ । सशस्त्र द्धन्द्धका समयमा माओवादी कार्यकर्ता लिम्बूको घरमा आइरहने गरेको पाइएको प्रहरीको भनाइ छ । त्यस क्रममा सुरक्षाकर्मीलाई छल्न जमिनमा खाल्डो खनेर गोली गाडेको र पछि लैजान बिर्सिएको हुनसक्ने प्रहरी आशंका छ ।
बरामद भएका गोली पड्किने अवस्थाका भने छैनन् । ‘लामो समयदेखि जमिन मुनि गाडेर राखिएका कारण ‘ड्यामेज’ भएर गोली काम नै नलाग्ने अवस्थामा पुगेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘खिया लागेर पड्कने अवस्थाको नभए पनि हतियारको गोली फेला परेका कारण गम्भीर ढंगले घटनाको अनुसन्धान थालिएको छ ।’

