मोरङमा लागूऔषधसहित ३ जना पक्राउ


विराटनगर – मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका-९ का ३१ वर्षीय सविन खड्का,सुन्दरहरैंचा नगरपालिका-१० का ३७ वर्षीय आशिष लामिछाने र धनकुटाको चौबिसे गाउँपालिका-६ का २८ वर्षीय आशिष लिम्बू रहेका छन् ।

झापाको गौरादह घर भएका खडका मङ्गलबार दिउँसो करिब ३ बजे विराटनगर–१६ स्थित दक्षिण गेटबाट पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ ।

खड्काको साथबाट ४/४ एम्पुलको मात्रामा लुपिजेसिक,ऐभिल,फेनारागन र डाइजोपाम बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । यसैगरी मोरङको सुन्दरहरैँचा घर भएका लामिछाने र धनकुटाको चौबिसे घर भएका लिम्बू भने विराटनगर-१५ बाट पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा लागूऔषध फेला परेपछि चालक लामिछाने र सवार लिम्बू दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १०० मिलिलिटरको डायलेक्स डीसीको बोतल बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध ओसारपसारको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया