

‘फरार’ सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरीको सर्कुलर

‘काठमाडाैं – प्रहरी प्रधान कार्यालयले हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ।
महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले अनलाइनन्यूज७सँग बताए।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।
संसद्मा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पटकपटक कोइरीलाई पक्राउ गर्न प्रहरीलाई दिएको मौखिक निर्देशन दिएको तर निर्देशन पालना नभएको भन्दै मन्त्रालयले शुक्रबार विज्ञप्ति जारेको थियो। सो विज्ञप्तिमा मौखिक निर्देशन पालना नभएपछि लिखित रूपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको जनाइएको छ।
हत्या अभियोगी सांसद कोइरीलाई पक्राउ गर्न ढिलाइ गरिएको भन्दै गृहमन्त्री र प्रहरीको आलोचना भइरहेको छ। डीआईजी राईले भने कोइरीको खोजी भइरहेको बताए। पुस ७ गते शपथकै दिन उनलाई पक्राउ गर्ने तयारी रहेकोमा उच्च अदालत जनकपुरको पत्र ढिला आइपुगेका कारण उनलाई पक्राउ गर्न नसकिएको राईले बताए।
‘शपथकै दिन पक्राउ गर्न सकिन्थ्यो। अदालतको पत्र ढिला आएकाले उनी उम्के,’ डीआईजी राईले भने, ‘खोजी गरिरहेका छौं। ७७ जिल्लामै पक्राउ गर्न निर्देशन जारी गरेका छौं।’
कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका असई थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ।

