राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै


काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार माघ २० गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । सरकारको चालु आर्थिक वर्षमा राष्ट्र ऋण उठाउने तालिकाअनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

सातवर्षे अवधिको ‘विकास ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ । उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ ।

माघ २० गते बोलकबोल पेश गर्ने मिति रहेको ऋणपत्रको निष्कासन मिति माघ २१ गते रहेको छ । यस्तै सावाँ २०८३ माघ २१ गते भुक्तानी हुनेछ । उक्त ऋणपत्रमा लगानी गर्नेले आर्जित ब्याजदरमा ब्याजकर तिर्नु नपर्ने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने विकल्प छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोल गर्नेलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजप्राप्त संस्थाले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया