

लागुऔषध सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ

काठमाडाैं – प्रहरीले भक्तपुरबाट अमेरिकन नागरिक सहित ७ जना चालकलाई पक्राउ गरेको छ । लागुऔषध सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरु पक्राउ परेका हुन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले भक्तपुरको जगातीमा चेकजाँच गर्ने क्रममा यस्तो फेला पारेको हो ।
पक्राउ पर्नेमा अमेरिकन नागरिक टासकम हपकन, अशोक गुरुङ, आकाश तामाङ, देबेन्द्र घिमिरे, जोतलाल तामाङ, एबेन्द्र कार्की र पवन राना मगर रहेका छन् ।
लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त जगातीमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यस बाहेक पुष महिनाभरी लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइसकेको छ ।

