

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार प्रारम्भ

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि बुधबारदेखि एकीकृत कारोबार प्रारम्भ भएको छ । दुई बैंक मर्ज भएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ को नामबाट एकीकृत कारोबार प्रारम्भ भएको हो ।
१००ः९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीको मर्जपछि बनेको बैंकको ९० कित्ता सेयर हुनेछ भने नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जरपछि बन्ने बैंकमा १०० कित्ता नै सेयर हुनेछ ।
मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि इन्भेस्टमेन्टकै ज्योति प्रकाश पाण्डे छन् । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेस्टमेन्ट बैंककै प्रयोग गरिएको छ ।
मर्जरपछि बैंकको कूल पूँजी कोष ५८ अर्ब र कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैया पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैया, कूल निक्षेप ३ खर्ब ६० अर्ब रुपैया र कूल कर्जा ३ खर्ब २९ अर्ब रुपैया नाघेको छ । शाखा सञ्जाल २५७, एक्सटेन्सन काउन्टर ५९ र एटीएम सङ्ख्या २७५ पुगेको छ भने ग्राहक सङ्ख्या ३० लाख पुगेको छ ।

