


बराबर हैसियतमा लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने सहमति

काठमाडाैं – एकपछि अर्को गर्दै वाणिज्य बैंकहरू मर्जरमा गइरहेका बेला लक्ष्मी र सनराइज बैंकले पनि मर्जरमा जाने औपचारिक सहमति गरेका छन् । मर्जरमा जाने विषयमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन् ।लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ को स्वाप शेयर आदान प्रदान अनुपातमा गाभिने गरी सम्झौता भएको हो ।
मर्जरपछि दुई बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड पुग्ने छ । अहिले लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड र भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ । त्यस्तै, ११ अर्ब २४ करोडको जगेडा कोष हुनेछ । अहिले लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड र सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ ।
मर्जरपछिको बैंकको कर्जा २ खर्ब ४८ अर्ब पुग्ने छ । अहिले लक्ष्मीको एक खर्ब २९ अर्ब र सनराइजको एक खर्ब १९ अर्ब रुपैयाँ छ । त्यस्तै, निक्षेप २ खर्ब ६५ अर्ब पुग्नेछ । अहिले लक्ष्मीको एक खर्ब ४० अर्ब र सनराइज बैंकको एक खर्ब २५ अर्ब रुपैयाँ छ ।
मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ । बैंकको अध्यक्ष लक्ष्मीले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै बैंकबाट सहमतिमा राखिनेछ ।

