

मोरङबाट ३ सय किलो गाँजा बरामद, २ जना पक्राउ

विराटनगर – मोरङको रंगेलीबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिणामको लागूऔषध गाँजा बरामद गरेको छ। २ जना पक्राउ परेका छन्।रंगेली नगरपालिका-१ बबियाका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो साढे ४ बजेतिर गाँजा फेला परेको हो। १५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको अवस्थामा बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि साँझ विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।
गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशीसहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए। राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी कोइरालाले दिए। पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट धनकुटादेखि राईले लागूऔषध गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ। उनीहरू दुबै जना गाँजाको कारोबार एवं तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

