

मधेश प्रदेश सभा : ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ ग्रहण

जनकपुर – मधेश प्रदेश सभा सदस्यमध्ये ज्येष्ठ सदस्यले बिहीबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच ज्येष्ठ प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।
कुर्तापैजामा पहिरनमा ७१ वर्षीय न्यौपानेले नेपाली भाषामा शपथ ग्रहण गरे । उनी सप्तरी क्षेत्र नं. ४ (क) नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सदस्य हुन् । शपथ ग्रहणपछि न्यौपानेले संवैधानिक व्यवस्थाअनुसार आफूले पहिलो शपथ खाएको बताए । सत्ता समीकरण अनुसार भविष्यमा पाउने जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने उनले विश्वास दिलाए ।
शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव, निवर्तमान उपसभामुख उपमा देव, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुख, विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।
न्यौपानेले भोलि १५ गते शुक्रबार दिउँसो २ बजे प्रदेश सभा हलमा अन्य सदस्यको शपथ ग्रहण गराउने छन् । सोही अनुसारको सूचना जारी गरिसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
प्रदेश सभामा १०७ सदस्यमध्ये दुई जना प्रदेश सभा सदस्यको मुद्दा अदालतमा विचाराधीन रहेकाले शुक्रबारको शपथ ग्रहण कार्यक्रममा सहभागी नहुने उनले जानकारी दिए । अब शुक्रबार प्रदेश सभामा १०४ जना सभा सदस्यले शपथ ग्रहण गर्नेछन् ।

