लाल मोहम्मदको हत्यामा प्रयोग भएको पेस्तोल लोलाङबाट बरामद


काठमाडौं – मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्यामा प्रयोग भएको पेस्तोल भेटिएको छ । काठमाडौंको बालाजु स्थित लोलाङ हाइटमा २ थान पेस्तोल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

लोलाङमा ३ महिनादेखि डेरा बन्द भएपछि घरधनीले स्थानीय निकायको रोहबरमा डेरा खाली गराउँदा सो पेस्तोल भेटिएको बताइएको छ । ‘दुई थान भारतीय पेस्तोल भेटिएको छ’ प्रहरी वृत्त बालाजुका एकजना अधिकृतले भने-‘लाल मोहम्मदको हत्यापछि सुटरले पेस्तोल छाडेर गएको पुष्टि भएको छ ।’

गोठाटारमा असोज ३ मा लाल मोहम्मदको गोली प्रहार गरेर हत्या भएको थियो । हत्यामा संलग्नमध्येका ३ जना सहयोगीलाई प्रहरीले पक्राउ गरेको थियो । कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुईजनाले गोली हानेर भागेका थिए ।

हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया