

स्युचाटारमा करेन्ट लागेर चौधरीको मृत्यु

काठमाडौं – काठमाडौंको स्युचाटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
आइतबार अपरान्ह साढे ५ बजे नागार्जुन नगरपालिका–१० स्युचाटार अमरज्योति स्कुल नजिकैको घरमा एक पुरूषलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
स्युचाटारमा डेरा गरी बस्ने २८ वर्षीय दुर्गानन्द चौधरीलाई करेन्ट लागेको हो।
एक घरको छतमा फससिलिङ लगाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि सहिद मेमोरियल अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचारको क्रममा उनको पौने ६ बजे मृत्यु भएको एसपी मैनालीले बताए। शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अघि बढाएको छ।

