

समयसीमा सकिनै लाग्दासमेत अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी

दार्चुला – भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिलाइ गरिरहेको छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गर्न आनाकारी गरिरहेको हो ।
मंसिर २१ गते नेपाल र भारतीय प्रशासनकाबीच भारतको धारचुलामा अस्थायी अर्थात कृत्रिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो। तर १० दिन बित्न लाग्दासमेत भारतले ढुंगामुढा र तारजालीसहितको तटबन्ध हटाएको छैन् । यदि तटबन्ध भारतले नहटाए बर्खामा नदीको धार पूरै नेपालतर्फ फर्किइ क्षति गर्ने जोखिम छ ।
जिल्ला सदरमुकाम खलंगा पारी भारतले महाकाली किनारमा करिब १ किलोमिटर लम्बाइ, ८ मिटर उचाइ र त्यत्तिकै नापमा चौडा पक्की तटबन्ध बनाइरहेको छ । तटबन्ध निर्माणका क्रममा भारतले नदी किनारमा थुप्रै ढुंगाहरु, तारजालीसहितको बाँध खडा गर्दा पानी नेपालतिर होचिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको भारतलाई त्याे अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन भनिने उनले बताए ।
नेपालतर्फ फर्किएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन र संरचना तत्काल हटाउने मंसिर २१ गतेमा सहमति भएको उनकाे भनाइ छ । भारतले पक्की तटबन्ध भन्दा नदी किनारतिर आएर धार परिवर्तन हुने गरी संरचना निर्माण गर्दा नेपाली पक्षबाट विरोध हुँदै आएको छ ।

