


‘सुनको लुगा’सहित विमानस्थलबाट दुई भारतीय पक्राउ
काठमाडौंबाट कलकत्ता जान लागेका सिराज कुन्नापिल्ली मोइदिन र फैसल कोट्टाकुडिइल अबु सुनमिश्रित कपडासहित पक्राउ

काठमाडौं – अवैध सुन भित्र्याउनका लागि गिरोहहरुले अनेक उपाय अपनाउँदै आएका छन् । यसै क्रममा पछिल्लो समय सुनमिश्रित कपडासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिकद्वय सराज कुन्नापिल्ली मोइदिन र फैसल कोट्टाकुडिइल अबु रहेका छन्।
मंसिर १८ गते दुई फरक विमानबाट काठमाडौंबाट भारत जान लागेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट कलकत्ता जान लागेका सिराज कुन्नापिल्ली मोइदिन र इन्डिगो एयरको मुम्बई जान लागेका फैसल कोट्टाकुडिइल अबुको लगेज विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनीहरूले लैजान लागेको कपडामा सुन मिसिएको पाइएको हो।
उनीहरूले लैजान लागेको कपडा नेपाल सुनचाँदी व्यवसायी महासंघमा परीक्षण गर्दा त्यसमा सुन मिसिएको पुष्टि भएको हो।
प्रहरीका अनुसार उनीहरू दुईले लैजान लागेको ५/५ थान अन्दाजी समान २ किलो ३८० ग्राम तौलका कपडा गलाउँदा सिराज कुन्नापिल्ली मोइदिनले लैजान लागेको कपडाबाट ७४.७५० ग्राम र फैसल कोट्टाकुडिइल अबुले लैजान लागेको कपडाबाट ७३.८९० ग्राम सुन निस्किएको हो।
पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ।

