


काठमाडौं उपत्यकामा ५ सयभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकामा आज गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारबाहीमा परेका छन् ।
यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारबाही गरिएको छ । चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

