पञ्चेश्वर गाउँपालिका अध्यक्ष पार्टीबाट निकालिए


बैतडी – प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा (एमाले) बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

बैतडी सदरमुकाममा बसेको नेकपा (एमाले) को सातौँ जिल्ला कमिटी बैठकले अध्यक्ष चन्दलाई कारबाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष सुरेन्द्र पालले जानकारी दिए ।

उनले भने, ‘पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको देखियो ।’ छानबिन समितिले अनुसन्धान गरेर बुझाएको प्रतिवेदन अनुसार उनी दोषी देखिएको पालले बताए ।

जिल्ला कमिटीको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेकाले सो निर्णय गरिएको उनको भनाइ छ । एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको उनले बताए ।

उनका अनुसार छानबिनका लागि जिल्ला कमिटी सचिव चक्र कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिको सदस्यमा पार्टीका जिल्ला सचिवालय सदस्य नरेश पाण्डे ‘निर्मल’ र सिगास गाउँपालिका इन्चार्ज योगेन्द्र अवस्थी रहेका थिए ।

छानबीनसमितले गाउँपालिका अध्यक्ष चन्दलाई पार्टी विधानको धारा ८० को उपधारा १, २, ३, ४, ५, ७ र १२ अनुसार पार्टी हितविरुद्ध काम गरेको निष्कर्ष निकालेको छ । प्रदेश सभा निर्वाचनमा बैतडी क्षेत्र नं. (ख) बाट एमालेका नेता लीलाधर भट्ट उम्मेदवार थिए । नेपाली कांग्रेसका शिवराज भट्टसँग उहाँ पराजित भएपछि पार्टीभित्रबाटै अन्तर्घात भएको भन्दै एमाले बैतडीले छानबिन समिति गठन गरेको थियो ।

पूर्वाग्रह राखेर कारबाही गरियो

प्रदेश सभा निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेका चन्दले आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको बताए । उनले भने, ‘प्रदेश सभा निर्वाचनमा दोस्रो पटक उम्मेदवार बन्नु भएका लीलाधर भट्टलाई पञ्चेश्वरबाट बढी भोट गए पनि पूर्वाग्रह राखेर कारबाही गरिएको छ ।’ निर्णयविरुद्ध आफू अदालत जाने उनले बताए ।

प्रतिक्रिया