


श्रीमतीको टाउको काटी प्रहरीचौकी जाँदै गर्दा…

सुर्खेत- श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरी चौकी जाँदै गरेको अवस्थामा सुर्खेतबाट एक पुरुष पक्राउ परेका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका-३ अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अम्मरले ३० वर्षीया श्रीमती मिनालाई हँसियाले घाँटी रेटेर उनको टाउको छुट्याइ झोलामा बोकेर हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
आलेले आफैं टाउको बोकेर प्रहरी चौकीतिर जाँदै गरेको बुझिएको छ।
एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका अम्मरले आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको बयान दिएका छन्। प्रहरीले मिनाको टाउको बिनाको शव उनकै घरबाट बरामद गरेको छ। आलेले मंगलबार मिनाको हत्या गरेको जनाइएको छ ।
उनको घरमा छोरा छोरी र आमा रहेको जनाइएको छ ।

