
प्रहरी महानिरीक्षक सिंह ओखलढुङ्गामा, समाजमा अशान्ति फैलाउनेविरूद्ध खरो रूपमा प्रस्तुत हुन निर्देशन
ओखलढुङ्गा – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको परिसरमा नवनिर्मित कार्यालय, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, हिरासत कक्ष, व्यारेक तथा भान्साघरको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्याउने महानुभावहरू तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र र प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी बस्ने आवास गृह, प्रहरी प्रशासन लगायत प्रहरी कार्य सम्पादन गर्न आवश्यक पर्ने भौतिक संरचना र प्रहरीले उपभोग गर्ने सेवा सुविधाहरुको उपलब्धता प्रत्यक्ष रुपमा प्रहरीको मनोवलसँग जोडिएको उल्लेख गर्दै नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरुमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिने विश्वास व्यक्त गरे । 
अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरितका गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू विरूद्ध खरो रुपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी कानूनी कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न समेत उनले निर्देशन दिए ।
स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा कानून विपरितका गतिविधि नियन्त्रण तथा व्यवस्थापन गरी समाजमा प्रभावकारी शान्ति, सुरक्षा र व्यवस्था कायम गर्न सकिने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको उच्च सम्मान गर्दै जन अपेक्षा अनुरूप प्रहरी कर्मचारीहरूले व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह गर्दै प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताए ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले विभिन्न सरोकारवाला निकाय तथा पदाधिकारीहरुसँगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त सुरक्षा निकायका कर्मचारीहरू, निर्वाचन कर्मचारीहरु र सम्बन्धित निकायका पदाधिकारीप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरूको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा समेत गरे ।
उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायतल बोलेका थिए ।
उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईन्जिनियर अनिल रानाले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल १० करोड १० लाख ४४ हजार ९१ रूपैयाँ ८१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



कागजपत्र |
