माया हत्याका आरोपित सशस्त्र प्रहरी जवान कोली सार्वजनिक


बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो ।

कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार राति नै बैतडी ल्याइएको हो । प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । मायाको हत्या गरिसकेपछि मायाँसँगै रहेकी नेहाले पनि घटनाबारे अन्यलाई जानकारी गराउने डरले नेहालाई पनि हत्या गर्ने प्रयासले घाँटीमा छुरा प्रहार गरेको र नेहाले भागेर ज्यान जोगाउन सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मृत माया स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्यादी प्रहरीको रुपमा कार्यरत थिइन् । मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७(ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३(ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्धा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया