पुष्पाले किन गरिन् सुदनकै घरमा आत्मदाह ?

इन्गेजमेन्टपछि बिहे नगर्ने केटापक्षको चेतावनीसँगै पेट्रोल खन्याएर आत्मदाह, आत्महत्या दुरूत्साहन मुद्धामा केटापक्षका ४ पक्राउ


काठमाडौं – राजधानीको धुम्बाराहीस्थित एक घरमा एक युवतीले पेट्रोल खन्याई आत्मदाह गरेकी छिन् ।

नुवाकोट घर भई हाल राजधानीस्थित बुद्धनगरमा बस्ने २७ वर्षीया पुष्पा न्यौपानेले इन्गेजमेन्ट गरेको तीन महिनापछि एकाएक केटा पक्षले बिहे नगर्ने जनाएपछि केटाकै घरको गेटमा आत्मदाह गरेकी हुन् ।

गत माघदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने उद्देश्यसहित पारिवारकै रोहबरमा गत भदौ १८ गते पुष्पा र धुम्बाराही निवासी सुदन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र विवाह गर्ने निर्णय गरिए पनि केटापक्षले एकाएक यही शनिबार पुष्पाको घरमा नै गएर विवाह नगर्ने जनाउ दिएपछि मानसिकरूपमा विक्षिप्त भएको केटा पक्षले घरमै बोलाएर पुष्पालाई थप पीडा दिएपछि (सुदन) को घरको गेटमै आत्महत्याको प्रयास गरेको काका उत्तम न्यौपानेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा उल्लेख भएअनुसार पुष्पाले उनीहरु (केटापक्ष) को घरको गेटमा नै पेट्रोल खन्याएर आफ्नो जीउमा आगो लगाएकी थिइन् । केटा पक्षले उनको उद्धार गर्नुको साटो केटीपक्षका परिवारलाई फोन गरेर ‘तपाईंको छोरी जस्तै महिलाले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी छिन्’, भनेर मात्र जानकारी दिएका थिए ।

घटनाबारे प्रहरीले थाहा पाएर उद्धार गरेर कीर्तिपुरस्थित वर्न सेन्टरमा उपचारका लागि लगेकोमा ती पुष्पाको सोमबार (आज) बिहान मृत्यु भएको छ ।

पुष्पाको मृत्यु भएपछि युवतीका आफन्तले आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरेपछि धुम्बाराही–४ बस्ने दिनेश संग्रौला, विन्दु संग्रौला, मधु संग्रौला र सुदन संग्रौलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

प्रतिक्रिया