

बाबु प्रतिनिधिसभा सांसद, छोरा गाउँपालिका प्रमुख !

काठमाडौं – बाबु प्रतिनिधिसभा सांसद छोरा गाउँपालिका प्रमुख । यो हो, यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा पछाडी निर्वाचित भएका दोलखाका गंगा कार्की र गौरीशंकर गाउँपालिकाका गाउँपालिका प्रमुख विश्वास कार्कीबीचको नाता अनि पदीय दायित्व ।
दोलखाबाट सोमबार बिहान मात्रै प्रतिनिधिसभाका लागि निर्वाचित ५७ वर्षीय गंगा कार्कीले जित हात पारेसँगै गत मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । उनको जितसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १८ वटा सिट हात पारेको छ ।
नेकपा एमालेका उम्मेदवारसँगको रोचक प्रतिस्पर्धामा कार्कीले ३१७ मतले बाजी मारेका हुन् । यसपटक गंगाले पनि नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पराजित गरे । गंगाले ३६ हजार ७ सय ९९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याए ।
दोलखाको उत्तरी गाउँपालिका गौरीशंकर गाउँपालिका वडा नं. २, फाल्टुक स्थायी घर भएका कार्की परिवारका दुई मुख्य सदस्यमध्ये बाबुले जिल्ला हाँक्ने जिम्मा पाएका छन् छोरा विश्वासले करिब ७ महिनादेखि गाउँपालिका हाँकेका छन् ।
गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ३१ वर्षीय विश्वासले ४ हजार ७ सय ५१ मत ल्याउँदै गाउँपालिका प्रमुखमा जित हात पारे । उनले नेकपा एमालेका उम्मेदवार जंगबहादुर गुरुङलाई पराजित गरेका थिए । त्यतिबेला कार्कीले जंगबहादुरलाई करिब हजार मतान्तरले पराजित गरेका थिए । गंगा कार्कीका दुई भाई छोरामध्ये विश्वास जेठा छोरा हुन् ।

