छोरो जसपाबाट मेयर, बाबु एमालेबाट सांसद !


महोत्तरी – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाबाट महोत्तरी क्षेत्र नं. १ का नवनिर्वाचित सांसद लक्ष्मी महतो कोइरी गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोका बुवा हुन् । अर्थात् मेहता परिवारका बाबु–छोरा नै सांसद र मेयर बने ।

त्यो भन्दा अर्को रोचक कुरा अर्को छ, लक्ष्मी महतोले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि जित हात पार्दै गर्दा छोरा डा. दीपेन्द्र महतो भने जसपाबाट मेयरमा निर्वाचित भएका हुन् ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा दिपेन्द्रले नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योञ्जनलाई पराजित गर्दै गौशाला नगरपालिकाको मेयरमा बाजी मारेका थिए । मेडिकल साइन्सका विद्यार्थी दिपेन्द्र गाइनोक्लोजिस्ट हुन् । लामो समयदेखि बिरामीको उपचारमा व्यस्त डा. महतो एक्कासी राजनीतिमा प्रवेश गरेर पहिलो प्रयासमै सफल बने ।

छोरा मेयर भएको करिब ७ महिनापछि बाबु लक्ष्मी महतो कोइरीले पनि माओवादी केन्द्रकै उम्मेदवारलाई पराजित गर्दै संसद प्रवेशको ढोका खोले । प्रतिनिधिसभा निर्वाचनमा लक्ष्मीले माओवादी केन्द्रका बरिष्ठ नेता गिरीराजमणि पोखरेललाई पराजित गरेका छन् । महतोले २३ हजार ४ सय २ मत ल्याउँदा पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरेका थिए ।

उनीहरूसँगै दोलखामा पनि बाबु-छोरा प्रतिनिधिसभा सदस्य र गाउँपालिका प्रमुख छन् भने तनहुँमा प्रदेशसभा सदस्य र गाउँपालिका प्रमुख बाबुछोरा रहेका छन् ।

प्रतिक्रिया