

छोराले गाउँपालिका सम्हाल्दा बाबु पुनः प्रदेशसभा सदस्य !

तनहुँ – २०७४ सालको प्रदेश सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ (ख) मा प्रदेशसभा सदस्य हरिबहादुर चुमान विजयी भए । उनै हरिबहादुरले गत स्थानीय तह निर्वाचनमा छोरालाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाए ।
निर्वाचनमा छोरा शुक्र चुमानले शानदार मतसहित गाउँपालिका प्रमुखमा जित हात पारे । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले भन्दा करिब १७ सय बढी मत ल्याएर जित हात पारे ।
आँबुखैरेनी गाउँपालिका गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका शुक्र चुमानले ३९४० मत ल्याएका थिए भने कांग्रेसका गिरबहादुर थापाले २२३० मत ल्याएका थिए ।
हरिबहादुर अघिल्लो कार्यकालमा गण्डकी प्रदेशसभा सदस्य भई आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत बनेका थिए । उनै हरिबहादुर यसपटक पनि माओवादी केन्द्रबाट गण्डकी प्रदेश सभा सदस्यका लागि दोहोरिएका छन् । चुमानले १३ हजार २८३ मत ल्याउँदा नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ५१९ मत ल्याएका थिए ।

