

बँदेलको आक्रमणबाट अछाममा एक जनाको मृत्यु

अछाम – अछाममा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको हो ।
उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले बताए । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए । पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ । लेकाली भेगमा मात्र नभएर गाउँ नजिकसम्म पनि जंगली जनावरहरुको बिगबिगी छ ।
किसानहरुले लगाएका विभिन्न बालीहरु जंगली जनावर बँदेल, भालु, बाँदर लगायतले नष्ट गर्न थालेपछि यहाँका नागरिकहरु चिन्तित बनेका छन् । जिल्ला प्रशासन कार्यालय अछामले जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले उनीहरुकाे आक्रमणबाट बच्न समूहमा हिँड्न अनुरोध गरेको छ ।

