

धनगढीका २३ प्रदर्शनकारी मुक्त

धनगढी – ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थी छुटेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले नियन्त्रणमा लिइएका विद्यार्थी तथा आफन्तलाई छाडिएको जानकारी दिए।
उनले भोलिदेखि आन्दोलन तथा प्रर्दशन नगर्ने शर्तमा उनीहरूलाई छाडिएको बताए। चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनका क्रममा आज प्रहरीले स्थानीय र विद्यार्थी गरेर २३ जनालाई समातेको थियो। ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी बालिकाका परिवारले प्रहरीले चालकविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि शव बुझेका छन्।
बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगर २८ का २७ वर्षीय विकल कुमालविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्।
चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बैतडीको डिलासैनी गापा-६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने वेला धनगढी उपमहानगर-५ मा ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रशासनले घटनापछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। सोही अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए। चेतना धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।

