छाडा पशु चौपाया व्यवस्थापनमा जुट्यो नेपालगञ्ज उपमहानगर


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ। बिहीबार बिहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज-२१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको छ।

नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफै सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लागेका छन्। नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया काञ्जीहाउस लगिएको छ। कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पुर्‍याइएको नगर प्रहरी प्रमुख बोगटीले बताए।

सडकमा छाडा पशु चौपाया बढ्न थालेपछि उपमहानगरपालिकाले नियन्त्रण र व्यवस्थापन थालेको हो। छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख विष्टले बताए।

‘दैनिक रुपमा नै अब सडकबाट छाडा पशु चौपाया धपाएर काञ्जीहाउस लैजान्छौँ,’ नगर प्रमुख विष्टले भने, ‘छाडा पशुचौपाया व्यवस्थापनलाई हामी उच्च प्राथमिकतामा राखेर काम गर्छौँ।’

सडकमा जथाभावी पशु चौपाया छोड्नेविरुद्ध कडा ढंगले प्रस्तुत हुने विष्टको भनाइ छ। जथाभावी पशु चौपाया छोड्नेहरुले काञ्जीहाउसमा पुर्‍याइएका छाडा पशु चौपाया फिर्ता लिन दैनिक १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्दछ। सात दिनसम्म पनि कोही लिन नआएमा लिलाम गरिने उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया