

स्मार्ट डिभाइसमा हार्मोनी ओएस प्रयोग गर्दै ह्वावे, के गर्छ यसले !

काठमाडौं – ह्वावेले विकास गरेको होङमेङ अपरेटिङ सिस्टमले प्रयाेगकर्तालाइ नयाँ अनुभव प्रदान गर्ने दाबी कम्पनीले गरेकाे छ ।
ह्वावेको एक वार्षिक समारोहमा बोल्दै ह्वावे कन्जुमर विजनेस ग्रुपका सीईओ रिचर्ड यूले हालै दोस्रो संस्करणको अपरेटिङ सिस्टम ल्याइएको र प्रयाेगकर्ताले यसबाट नयाँ र पृथक शैलीकाे अनुभव गर्ने बताए ।
हार्मोनी ओएस पनि भनिने उक्त अपरेटिङ सिस्टमलाई कम्पनीले पहिलाेपटक २०१९ को ह्वावे डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरेकाे थियाे ।
ह्वावेको पछिल्लो समारोहमार्फत कम्पनीले यस ओएसमा थप प्लेटफर्ममा सपोर्ट दिने पनि बताएकाे छ । साथै यसमा थर्ड पार्टी आईओटी डिभाइसको समेत सपोर्ट रहनेछ ।
२०२१ मा ह्वावेले हार्मोनी ओएसमा आधारित धेरै स्मार्टफोन सार्वजनिक गर्ने योजना लिएको छ । यसै वर्षको अन्त्यसम्ममा ३० देखि ४० करोडसम्म स्मार्ट डिभाइसमा उक्त ओएस इन्स्टल गर्ने कम्पनीको लक्ष्य छ ।

