राष्ट्रिय एकद्वार प्रणाली आजबाट सुरु


काठमाडौं – राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी आजदेखि एकद्वार प्रणाली सुरु भएको छ ।

डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । वैदेशिक व्यापार तथा भन्सार व्यवस्थापनको सवालमा थप सहजीकरण गर्ने उद्देश्यले सरकारले एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको बताइएको छ ।

६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक गरिएको हो । विभागका अनुसार यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुनेछन् । भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुनेछन् ।

यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धीत कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् ।

यससँगै फरक फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धती तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ ।

प्रतिक्रिया