
बजेट अघिनै ईभी आयातमा हतार, चोभार बन्दरगाहमा सयौं गाडीको चाप
काठमाडौं- काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अहिले सयौं विद्युतीय गाडी (ईभी) को भीडले भरिएको छ। बजेटको पूर्वसन्ध्यामा आयातकर्ताहरू गाडी भन्सार पास गराउन आतुर देखिन्छन्। कारण एउटै, आगामी बजेटमार्फत भन्सार महसुल र अन्तःशुल्कमा वृद्धि हुन सक्ने आकलन।
तातोपानी र रसुवागढी नाकाबाट भित्रिएका अधिकांश गाडी ५१ देखि १०० किलोवाट क्षमताका छन्, जसको बजारमा अहिले अत्यधिक माग छ। वैशाख महिनामा मात्रै करिब १,९०० वटा ईभी नेपाल भित्रिएको छ, जुन संख्या अघिल्ला महिनाहरूको तुलनामा निकै बढी हो।
सरकारले विद्युतीय सवारीमा कर छुट दिएपछि बजारमा यसको क्रेज तीव्र भएको हो। नयाँ गाडी किन्ने मात्र होइन, पुराना पेट्रोल-डिजेल गाडीलाई बदल्ने उपभोक्ताले पनि अब ईभी रोज्न थालेका छन्। बजारको चाप देखेर चिनियाँ र भारतीय कम्पनीहरूले आ–आफ्ना मोडेलहरू धमाधम भित्र्याइरहेका छन्।
सडकमा विद्युतीय सवारीसाधनको संख्या तीव्र गतिमा बढिरहेको छ, जसले ईभी युगको संकेत गरिरहेको छ।



कागजपत्र |
