

६० को दौडमा नेपाली कांग्रेसकी प्रभावशाली महिला

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा कांग्रेस नेत्री आरजु राणा देउवा मंगलबारदेखि ५९ बर्ष पूरा भएकी छन्। ६० को दौडमा उक्लिएकी राणा कांग्रेसभित्र प्रभावशाली महिलाका रुपमा स्थापित भएकी छन्।
देउवा सभापतिमा निर्वाचित भएपछि कांग्रेसमा राणाको शक्तिशाली उदय भएको हो। त्यसअघि नै उनले सामाजिक कामका माध्यमबाट देशमा आफूलाई स्थापित गरिसकेकी थिइन्।
राणा २५ बर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेकी छन्। उनले ०५२ सालमा क्रियाशिल सदस्य हुँदै ०५६ मा महासमिति सदस्य हुँदै कांग्रेसका तर्फबाट संविधानसभाका दुई कार्यकालमा सभासद हुने मौका पाएकी थिइन्।
प्रतिनिधि सभाको चुनावमा भने उनी कैलालीबाट पराजित भइन्। तर, सो बेला नेपाल कम्युनिस्ट पार्टीको गठबन्धन रहेका कारण कांग्रेसले धक्का खाएको थियो।
यद्यपि उनलाई प्रतिपक्षी प्रथम महिला रहेकाले कांग्रेस सत्तामा शक्तिशाली रहेको मानिन्छ। ‘अध्ययनशील र नेतृत्व समेत इमानदारीताका साथ गर्न सक्ने उहाँ आफैंमा एउटा शक्तिशाली महिला नेत्री हो’, कांग्रेसीजन भन्छन्।
नेपाली राजनीतिमा महिलाको सहभागीता, महिला अधिकार, महिला नागरिकताको समान अधिकार, सम्पत्तिमा समान हक, महिलाविरुद्धको हिंसाका लागि अभियान चलाउने राणा कांग्रेसको आगामी महाधिवेशनमा पदाधिकारीमा पनि आउने चर्चा छ।
स्रोतले भन्यो,‘महाधिवेशनमा देउवा पुनः सभापतिमा नआउने अवस्थामा राणा उपसभापतिका रुपमा ल्याउने तयारी पनि भएको छ। त्यो क्षमता र दक्षता उहाँले राख्नुहुन्छ।’

