

सगरमाथामा छायांकन भएको अमिताभ बच्चनको फिल्म ‘उचाइ’ आजबाट प्रदर्शन

काठमाडौं- बलिउड सिनेमा ‘उचाइ’ आजबाट प्रदर्शनमा आएको छ । गत वर्ष यो चलचित्रको निर्माण पक्ष छायांकनका लागि नेपाल आएको थियो ।
सुरज आर बडजात्याले निर्देशन गरेको चलचित्र नेपालमा स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा छायांकन गरिएको थियो ।
अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडालगायत कलाकारको अभिनय रहेको चलचित्रले नेपाली पर्यटनलाई प्रवद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यो चलचित्रले नेपालमा १६ करोड रुपैयाँ खर्च गरेको थियो। नेपाली कलाकार र प्राविधिकले पनि यो चलचित्रमा काम गरेका थिए ।
२७ दिन नेपालमा छायांकन गरेको ‘उचाइ’ युनिटले नेपालमा सबैभन्दा धेरै हवाई सेवामा खर्च गरेको थियो । पाँच सय जना कलाकार र प्राविधिक हेलिकोप्टरमा ओसारेको चलचित्र युनिटले प्रतिव्यक्ति कम्तीमा ५ पाँच लाख रुपैयाँ खर्चिएको थ्रि–ह्विलर्स फिल्म्सले जनाएको थियो ।
अल्टिच्युट एअरले नेपालमा फ्लाइटको जिम्मा लिएको थियो । अल्टिच्युट एअरमात्रै पर्याप्त नभएपछि मनाङ र हेली एभरेष्ट पनि युनिटले प्रयोग गरेको थियो । हवाइजहाजमा भने तारा एअरसँग उचाई युनिटले सम्झौता गरेको थियो ।
लजिङ–फुडिङमा चारदेखि पाँच करोड रुपैयाँ खर्च गरेको सिनेमा युनिटले होटल हायातमा मात्रै करिब डेढ करोड खर्च भएको छ ।
मनाङमा करिब १० दिन छायांकन गरेको ‘उचाइ’को युनिटले त्यहाँ होटलमा मात्रै करिब एक करोड रुपैयाँ खर्च गरेको उद्योग वाणिज्य संघ मनाङले जनाएको थियो ।
होटल, इकुप्मेन्ट, जनशक्ति, लोकेशन, सवारी साधन, हेलिकोप्टर, ट्रान्सपोटेसन लगायतमा खर्च भएको थियो । सबैभन्दा धेरै खर्च सोलुखुम्बुमा भएको थियो ।
नेपालमा ४० दिनको छायांकन सेड्युल भए पनि २७ दिनमै काम सुटिङ सकेर फर्किएको हो । ४० दिन नै छायांकनका लागि लागेको भए ‘उचाइ’को नेपाल खर्च थप बढ्ने थियो ।
अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी, सारिका हसनसहित करिब ३०० जनाको टिम नेपाल आएको थियो । यो चलचित्रमा केही नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।
अक्टोबर ४ देखि काठमाडौंको एयरपोर्ट र हायात होटलबाट चलचित्रको छायांकन सुरु गरेको थियो । ‘उचाइ’ दुई सय करोड भारतीय रुपैयाँ बजेटको चलचित्र हो ।
‘उचाइ’ले मित्रताको कथा भन्छ । तीन साथीहरूको कथा नै यो चलचित्रको मुख्य कथा हो । जो सगरमाथा आधार शिविरमा पदयात्रा गर्न जान्छन् । एक साधारण ट्रेक यात्राकै क्रममा व्यक्तिगत, भावनात्मक र आध्यात्मिक यात्रा हुन जान्छ । यात्रमा उनीहरूले आफ्नो शारीरिक सीमितताहरूसँग लड्छन् र स्वतन्त्रताको वास्तविक अर्थ पत्ता लगाउँछन् । यो नै चलचित्रको मुख्य कथानक हो ।
परिणिती चोपडा ट्रेक गाइडको भूमिकामा छिन् ।

